कावासोती । कावासोती ३ का वडाध्यक्ष अमृतकुमार श्रेष्ठको पहलमा कावासोती ३ मा रहेको जनविकास विद्याश्रम आधारभूत विद्यालयलाई युवा व्यवसायीहरुले स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । जिल्लाको कावासोती ३ सभापति चोकमा संचालित डि डि ट्रेडर्सका सन्चालकद्वय दामोदर अधिकारी र डम्बर नारायण श्रेष्ठ एवं युवा व्यवसायी तथा समाजसेवी नवराज भण्डारीले उक्त सामाग्री आइतबार एक कार्यक्रमका बिच विद्यालयलाई प्रदान गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि एवं कावासोती नगरपालिका वडा नं ३ का वडाध्यक्ष अमृतकुमार श्रेष्ठले पछिल्लो समय युवा व्यवसायीहरु सामाजिक तथा मानवीय सहयोगका कार्यमा सक्रिय हुनु खुशीको कुरा भएको भन्दै उक्त कार्यको प्रशंसा गर्दै अरुले पनि यस्ता कार्यको अनुकरण गर्नुपर्नेमा जोड दिए ।
कोरोना भाइरसका कारण मुलुकमा लकडाउन भएयता निरन्तर कोरोना प्रभावितका लागि सहयोग र राहत जुटाउनका प्रयत्नशील रहदै आएका वडाध्यक्ष श्रेष्ठले विद्यालयलाई प्रदान गरिएका स्वास्थ्य सूरक्षा सामाग्रीले विद्यार्थीको प्रत्यक्ष सम्पर्क कक्षा सन्चालनमा सहजता ल्याउने र विद्यार्थीहरुलाइ सुरक्षीत भएर अध्यन गर्ने वातावरण सिर्जना गर्ने विस्वास व्यक्त गरे । जनविकास विद्याश्रम विद्यालया आइतबारदेखि संचालित प्रत्यक्ष सम्पर्क कक्षामा अध्ययन गर्न आएका विद्यार्थीलाई कोरोना संक्रमणको जोखिमबाट बचाउने उद्देश्यले एक सय दस थान प्रोटेक्टिभ आइसोलेसन मास्क सहितका स्वास्थ्य सामाग्री वडा अध्यक्ष अमृतकुमार श्रेष्ठको पहलमा विद्यालयलाई प्राप्त भएको विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपानेले बताए । सरकारले हालै जारी गरेको सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार बैकल्पिक सिकाइको पहुँचमा नरहेका विद्यार्थीलाई सिकाइ सहजीकरण गर्न विद्यालयमा संचालित प्रत्यक्ष सम्पर्क कक्षामा अध्ययन गर्न आउने विद्यार्थीलाइ संक्रमणको जोखिमबाट बचाउन उक्त सामाग्रीले मद्दत पुग्ने प्रधानाध्यापक न्यौपानेले बताए । कोरोनाको डरले लामो समयदेखि विद्यालय आउन नपाएको र अहिले विद्यालय आउँदा स्वास्थ्य सूरक्षाका सबै सामाग्री प्रयोग गरेर पढ्न पाउँदा आफुहरुले सुरक्षित महसुस गरेको र खुशी लागेको विद्यालयको कक्षा सातमा अध्ययनरत विद्यार्थी विपिन सुवेदीले बताए ।
वडाध्यक्ष श्रेष्ठको पहलमा विद्यालयलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण