भैरहवा । 'गाउँटोल सफा राखौं, स्वस्थ रहौं' भन्ने मुल नाराका साथ रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं ३ करुवानीमा नवगठित श्री जन जागृति युवा क्लबले करुवानी बजार परिसरमा बृहत सरसफाई कार्यक्रम गरेको छ ।
गाउँपालिकाको समन्वयमा क्लबले ५ औं संविधान दिवसको अवसर पारेर ओमसतिया ३ करुवानीमा लाग्ने बुधबारे साप्ताहिक बजार परिसरमा सरसफाई गरेको हो ।
क्लबले सुरुवात गरेको सरसफाई कार्यक्रम सँगसँगै फोहोरलाई आ-आफूले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा जस्ता व्यापारिक सामाग्री सडकमा राख्न रोक लगाउने र त्यस्ता सामाग्री तथा वातावरण दूषित पार्ने काम गरेमा घरधनी तथा व्यवसायीहरुलाई नियमानुसार कारवाही गरिने क्लबका अध्यक्ष मनोज कुर्मीले बताए । साथै उनले अगामी दिनहरुमा सरसफाई कार्यक्रम लगायत अन्य सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट, वडा नं ३ का वडा अध्यक्ष चन्नर प्रसाद यादव, स्वास्थ्य शाखा प्रमुख रामप्रसाद भट्टराई, योजना अधिकृत खेम प्रसाद ढुङ्गाना, ओमसतिया ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश बहादुर शाही, सामाजसेवी तथा स्थानीयहरुको ठूलो सहभागिता रहेको थियो ।
तस्बिरहरु:- जितेन्द्र थारू, मनोज कुर्मी चौधरी 







