भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै अत्याधिक कोरोना संक्रमित थपिएका छन् ।
गाउँपालिकामा आज सोमबार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी १६ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै गाउँपालिकामा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।
सोमबार थपिएका १६ जना संक्रमित मध्ये वडा नं १ का ५ महिला र ५ जना पुरुष रहेका छन् । त्यस्तै वडा नं २ का १ महिला, ३ पुरुष र वडा नं ३ का १ महिला, १ पुरुष रहेको जनस्वास्थ्य अधिकृत तथा (सिआइसिटीटी) का संयोजक पिताम्बर पाठकले जानकारी दिए ।
भदौं १८ गते साँझ ४ बजेसम्मको कोभिड-१९ अपडेट अनुसार चालु आर्थिक वर्षमा नमुना स्वाब संकलन गरी पिसीआर परिक्षण गरिएका १४७ जनामध्ये ११४ जनाको रिपोर्ट आउँदासम्म १३ जनामा कोरोना संक्रमण देखिएको जनस्वास्थ्य अधिकृत तथा (सिआइसिटीटी) का संयोजक पाठकले बताए । त्यस्तै रिपोर्ट आउन बाँकी रहेको ३३ जनामध्ये आज १६ जनाको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।
कुन वडामा कति पुगे कोरोना संक्रमित :
जनस्वास्थ्य अधिकृत तथा (सिआइसिटीटी) का संयोजक पिताम्बर पाठकका अनुसार हालसम्म वडा नम्बर १ मा १० महिला र १३ जना पुरुष सहित कुल २३ जना कोरोना संक्रमित रहेका छन् । त्यस्तै वडा नम्बर २ मा ४ महिला र ८ पुरुष सहित कुल १२ जना, वडा नम्बर ३ मा ३ महिला र ५ पुरुष सहित कुल ८ जना, वडा नम्बर ५ मा १ जना पुरुष, वडा नम्बर ६ मा १ महिला र ४ पुरुष सहित कुल ५ जना संक्रमित रहेका छन् । भने वडा नम्बर ४ मा हालसम्म कोरोना संक्रमण देखिएको छैन ।