नवलपुर, ३ वैशाख । सवारीचालक अनुमति पत्र(लाइसेन्स )का लागि यातायात व्यवस्था कार्यालय कावासोतीले सम्झौता गरेर प्रयोग गरिरहेको कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन गरिएको छ ।अब यस्को नया नाम नवलपुर ट्रायल सेन्टर भएको हो। कम्पनी रजिष्ट्रारको कार्यालयमा विधि प्रक्रिया पुर्याएर ट्रायल सेन्टरको नाम नवलपुर ट्रायल सेन्टर राखिएको हो ।
ट्रायल सेन्टरले सबै काम अब नयाँ नामअनुसार हुने सञ्चालक प्रविन सापकोटाले जानकारी दिएका छन । पुरानो नामले समग्र नवलपुर भन्दा पनि कावासोती क्षेत्रलाई मात्रै समेटेको जस्तो महसुस गरेर जिल्लालाई प्रतिनिधित्व गर्नेगरी नाम राख्दा उपयुक्त ठानेर नवलपुर ट्रायल सेन्टर राख्न निवेदन दिएर प्रकृया पुरा गरेपछि नाम परिवर्तन भएको सापकोटाले बताए। ट्रायल सेन्टरको सेवा क्षेत्र विस्तार र पहिचानलाई एकीकृत बनाउने गरी ट्रायल सेन्टरको नाम परिवर्तन गरिएको उनको भनाइ छ ।
यातायात व्यवस्था कार्यालय कावासोतीले सवारी चालक अनुमति पत्र वितरणका लागि लिने ट्रायल परीक्षा यसै नवलपुर ट्रायल सेन्टरबाट नियमित हुँदै आएको छ । ट्रायल सेन्टरले नयाँ नामबाट सेवा प्रवाह सुरु गरेकाले सेवाग्राहीलाई नझुक्किन समेत उनले आग्रह गरेका छन।
ट्रायल सेन्टरमा सवारी चालक अनुमति पत्रको ट्रायलसँगै अन्य दिनमा दक्ष प्रशिक्षकहरुबाट ट्राफिक नियमसहित प्रशिक्षण दिने गरिएको छ । नवलपुर ट्रायल सेन्टरमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीसाधनबाट सहजै ट्रायल पास हुनसक्नेगरी विभिन्न कोर्स बनाएर प्रशिक्षण दिइँदै आएको सापकोटाको भनाइ छ ।