प्रीय धन,भाद्र १६। नेपाली भाषा साहित्य संघ नवलपरासी ले सवारी साधनमा अङ्ग्रेजी भाषामा नम्बरप्लेट निकालेको प्रति गम्भीर आपत्ति जनाएको छ । भदौ १४ गते एक विज्ञप्ति जारी गर्दै संघले विरोध जनाएको हो । सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषामा नलेखी अङ्ग्रेजी भाषामा लेखिएका यो नेपालीभाषा प्रतिको ठाडो हस्तक्षेप हो भन्दै तत्काल यो कार्य बन्द गर्न संघले माग राखेको छ । संघका अध्यक्ष नेत्रलाल न्यौपाने र सचिव टिकादेवि पोखरेलद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिद्धारा संघले विरोध जनाएको हो । " नेपाली सवारी साधन मा प्रयोग गरिने भाषा विदेशीका लागि होइन नेपालीका लागि हो । राष्ट्रघाती प्रकृतिको फैसलालाई तत्काल सच्याउन नेपाली भाषा साहित्य संघ नवलपरासी जोडदार माग गर्दछ " विज्ञप्तिमा उल्लेख गरिएको छ । २०७४ साल फागुन ६ गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली
को इजलासले अङ्ग्रेजी भाषामा सवारी साधनको नम्बर प्लेट नलेख्ने विषयमा अन्तरिम आदेश जारी गरिएको थियो । तर नेपाली भाषा लेखनमा जटिलता , विदेशीका लागि सजिलो , पारवहनमा सुविधा जस्ता कारण देखाएर पुन: सर्वोच्च अदालतले २०७६ साल मंसिर २७ गते उक्त गापाल पराजुलीको अन्तरिम आदेश खारेज गरी अङ्ग्रेजी भाषामा नै लेख्न सकिने निर्णय गरेको थियो । हाल यातायात व्यवस्था विभागले यही साउन १ गते देखि सवारी साधन मा अङ्ग्रेजी भाषामा इमबोस्ड नम्बर प्लेट राख्ने भनी पत्राचार गर्न थालेको छ ।
नम्बर प्लेट अङ्ग्रेजी भाषामा लेखिएकोमा नेपाली भाषा साहित्य संघ नवलपरासीको आपत्ति