अविश्वासको प्रस्तावमाथि छलफल भएको बैठक आज दिउँसो १ बजे पुनः बस्दैछ
१५ बैशाख, बाँके । गण्डकी प्रदेशसभाका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सभाका केही सांसदलाई संक्रमण देखिएको छ । तर संक्रमित सांसदको नाम भने स्वास्थ्य निर्देशनालयले सार्वजनिक नगरेको खबरहबले जनाएको छ ।
गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा सत्तारुढ दल एमाले सांसदहरुले पीसीआर परीक्षण नगरी संसद चल्न नदिने भन्दै संसद बैठक अवरोध गरेका थिए जसका कारण बैठक स्थगित भएको थियो । बैठक स्थगितपछि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सबै सांसदको पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो ।
सोहीअनुरुप बैठकमा सांसदलाई कोरोना पोजेटिभ देखिएमा बोल्न नपाउने तर मतदान गर्ने ब्यवस्था मिलाउने सहमति जुटेको थियो ।
पहिलो दिनको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए । अविश्वासको प्रस्तावमाथि छलफल भएको बैठक आज दिउँसो १ बजे पुनः बस्दैछ ।