तिलोत्तमा -तिलोत्तमा नगरपालिकामा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरु अर्को निर्णय नहुँदासम्मको लागि बन्द भएका छन् । नगरपालिका क्षेत्रमा समेत केही दिनयता कोभिड–१९ को संक्रमण बढ्दो अवस्थामा रहेको र संक्रमणले थप जटिलता ल्याउन सक्ने निष्कर्ष निकाल्दै आज बसेको नगरपालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख एवं सिसिएमसी संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, सामुदायिक तथा संस्थागत विद्यालय, अभिभावक, व्यवसायिक संघ–संस्था, सञ्चारकर्मीका प्रतिनिधिहरुको सहभागिता थियो ।
बैठकले आजकैं मितिदेखि लागू हुनेगरी नगर भित्रका सम्पूर्ण विद्यालय, कलेज, होस्टल, ट्युशन सेन्टर, तालिम सेन्टर अर्को निर्णय नहुँदा सम्मको लागि पूर्णतः बन्द गर्नुको साथैं सबै प्रकारका परीक्षाहरु समेत तत्काल स्थगित गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । बैठकले तिलोत्तमा–१, नयाँमिल स्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा बसेर अध्ययन गर्ने छात्रा प्रतिमा सापकोटाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सो घटनाको विषयमा तीन दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानबिन समिति गठन गरेको छ ।
बैठकले नगरपालिका शिक्षा शाखा प्रमुख उप–सचिव गंगाराम आचार्यको संयोजकत्वमा नगरपालिका शिक्षा समिति सदस्य टंक प्रसाद पौडेल, प्याब्सन तिलोत्तमा अध्यक्ष डिबी थापा, अभिभावक संघ तिलोत्तमाका अध्यक्ष नारायण ज्ञवाली र नगरपालिका कोरोना फोकल पर्सन केशव भट्टराई सदस्य रहेको छानबिन समिति गठन गरेको हो । बैठकले घटनाको विषयमा सबै पक्षलाई धैर्य र संयमित रहन अपिल समेत गरेको प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो ।
बैठकले सम्पूर्ण हाटबजारहरु अर्को निर्णय नहुँदा सम्मको लागि तत्काल बन्द गर्ने÷गराउने, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थानमा मानिसको जमघट हुनेगरी कुनै पनि कार्यक्रम नगर्ने÷नगराउने लगायतका निर्णय समेत गरेको छ । बैंक, वित्तीय संस्था, सहकारी, पसल, व्यवसाय, होटल सञ्चालन गर्दा जन स्वास्थ्यका आवश्यक साधन सहित मापदण्ड लाई पूर्ण रुपमा परिपालना गर्ने÷गराउने, विवाह, ब्रतन्ध, न्वारन, पास्नी, धार्मिक अनुष्ठान, अन्तिम संस्कार जस्ता अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु निर्धारित मापदण्डको पालन हुने गरी मात्र सञ्चालन गर्ने निर्णय समेत गरिएको बैठक पछि जारी सूचनामा जनाइएको छ ।
यस्तै भारतबाट आउने नेपाली तथा अन्य व्यक्तिलाई परिवार, आफन्त, टोल विकास संस्थाहरुले कोरोना प्रोटोकलमा रहन सहजीकरण गर्ने तथा कुनै व्यक्तिलाई कोभिड–१९ को लक्ष्मण देखिएमा तत्कालै नजिकैंको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने वा यकिन गर्न कोरोना परीक्षण गर्ने÷गराउने निर्णय समेत भएको जारी सूचनामा उल्लेख छ ।
साथै सार्वजनिक ठाउँमा हिँडडुल गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने तथा २ मिटरको भौतिक दुरी कायम गर्ने, पटक–पटक साबुन–पानीले हात धुने अथवा गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्न बैठकले नगरबासी लाई आग्रह समेत गरेको छ ।