काठमाडौं । गत वर्ष सिन्धुपाल्चोक, बाग्लुङ सहितका जिल्लामा गएको बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुनःनिर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरणको राष्ट्रिय परिषद् बैठकले पहिलो किस्ताको रकम दिने निर्णय गरेको हो । विपद् व्यवस्थापन कोषमा रहेको रकम मध्ये ५० करोड रुपैयाँबाट तीन हजार घर पुनःनिर्माणका लागि रकम दिने निर्णय भएको छ । कार्यविधि अनुसार घर पुनःनिर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ प्रति घर दिने उल्लेख छ ।
बैठकमा यस वर्ष आगलागी बाट क्षति पुगेका घरको पुनःनिर्माणमा सहयोग गर्ने सम्बन्धमा पनि तयारी थाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको छ । गत चैत २१ मा बाँकेको नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा भएको आगलागीमा परेर १२० वटा घर टहरा जलेका थिए । जुम्लाको तिला गाउँपालिकामा पनि ३५ घर नष्ट भएका छन् ।
ती ठाउँमा घर निर्माणका लागि सहयोग गर्न एकीकृत कार्यविधि बनाउने तयारी थालिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभएको छ । प्रधानमन्त्री ओलीले डढेलो बढिरहेको उल्लेख गर्दै नियन्त्रणका लागि सबै स्रोत र जनशक्ति प्रयोग गर्न विपद् व्यवस्थापन प्राधिकरण लाई निर्देशन समेत दिनुभएको छ ।
डढेलोका कारण वायु प्रदूषण समेत बढिरहेको उल्लेख गर्दै ओलीले यसलाई ठूलो विपदको रुपमा लिएर नियन्त्रणका लागि गम्भीर बन्न निर्देशन दिनुभयो ।