भदौ १२ पोखरा । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो पारिएको छ । तीज, कुशे औंसीमा मानिसहरुको आवतजावत बढ्न सक्ने निष्र्कष सहित भदौ २ गतेबाट जारी निषेधज्ञालाई शुक्रबार राती १२ बजेबाट केही खुकुलो पारिएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले आज एक सूचना जारी गर्दै जिल्लाभर लागू हुने गरि ६ बुँदे स्वास्थ्य र सुरक्षाका मापदण्डलाई कडाईका साथ पालना गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्वारा जारी सूचनामा अबदेखि जिल्लाभर जोरबिजोर प्रणालीमा ट्याक्सी र निजी सवारीसाधन बिहान ६ देखि ८ बजेसम्म चलाउन सकिने भएको छ । साथै, यसअघि सरकारी कार्यालय तथा बैंक तथा वित्तीय संस्था खुल्दै आएकोमा अबदेखि सहकारीहरु पनि भीडभाड नहुने गरी संचालन गर्न सकिने भएको छ । कामदार तथा सेवाप्रवाहलाई सुरक्षित बनाइ सबै प्रकारका निर्माण कार्य तथा उद्योग पनि संचालन गर्न सकिने छ । होटल तथा रेष्टुरेन्टहरुले टेक अवे सेवामात्र साँझ ७ बजेसम्म संचालन गर्न सक्ने छन् । साथै अत्यावश्यक कामका लागि घरबाहिर निस्कदा अनिवार्य मास्क लगाउनुपर्ने, २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने, पटकपटक साबुनपानीले हात धुनुपर्ने, सेनिटाइर लगाउनुपर्ने नियम जारी नै छ । विश्वव्यापी महारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले गत भदौ २ देखि निषेधाज्ञा आदेश जारी गरेको थियो । पछि भदौ ८ देखि पुनः ५ दिन थप्दै भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा तोकिएको थियो ।
कास्कीमा निषेधाज्ञाको स्वरुप परिवर्तन, स्वास्थ्य सुरक्षाको मापदण्ड कायमै