काठमाडौं । प्रतिनिधिसभा विघटन र पुनस्र्थापना पछि सत्तारूढ र इतरका दलबीच राजनीतिक तिक्तताको अवस्था बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्री लाई मंगलबार दिउँसो चार बजेका लागि सर्वदलीय बैठकमा बोलाएकी हुन् ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले पूर्वप्रधानमन्त्री सहित संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको जानकारी दिए ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो । राष्ट्रपतिले यसअघि नै दलसँग छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धतासँगै त्यो सजिलो भएको शीतल निवासको भनाइ छ ।
सर्वदलीय बैठक मार्फत राष्ट्रपतिले दललाई मुलुकको आन्तरिक समस्यालाई समझदारीबाट टुंग्याउँदै अघि बढ्न आग्रह गर्ने बताइएको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मुलुकमा राजनीतिक दलबीच तिक्तता बढेको थियो भने पछिल्लो समय गत २३ फागुनमा सर्वोच्च अदालतले नेकपालाई एकीकरणअघिकै अवस्थामा पु९याइदिएपछि पनि मुलुक राजनीतिक जटिलताबाट गुज्रदैँ आइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।