नेकपाका केन्द्रीय सदस्य खगराज अधिकारीले सचिवालय असफल भएको बताएका छन्। सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पेश गरेका छुट्टछुट्टै प्रतिवेदन स्थायी कमिटीमा पठाउने निर्णय गर्नु नै असफलताको प्रमण भएको उनको जिकिर छ।यो पार्टी ठूलो दुखले बनाएको हो, अहिले सचिवालय असफल बनेको छ अधिकारीले भने, सचिवालय जस्तो असक्षम स्थायी कमिटी र केन्द्रीय कमिटी हुँदैन । पोखरामा आइतबार बिहान पत्रकारसँगको भेटघाटमा अधिकारीले उक्त कुरा बताएका हुन्। पार्टीभित्र विभिन्न गुटको भेला भइराखेको भन्दै उनले यस्ता भेलाले पार्टी एकता नभत्कने दाबी गरे।पार्टी एकताको विकल्प छैन उनले भने, उहाँहरुले गुटको भेला गरिराख्नु भएको छ, त्यसले एकतामा फरक पार्दैन।दमौलीमा पुल उद्घाटनको विषयमा नेकपा र काँग्रेसबीच चर्किएको विवादबारे उनले काँग्रेसले लोकतन्त्र नमानेको आरोप लगाए। ‘कम्युनिष्टहरुले लोकतन्त्र र विधिको शासन मान्छ, अरुले मान्दैन’, उनले भने, ‘त्यो त बुल्दी पुलले पनि देखायो नि।’ दमौलीमा बुल्दी पुल उद्घाटनमा जाने क्रममा नेकपाले अवरोध गरेपछि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई ३ घण्टा प्रहरीले नियन्त्रणमा लिएको थियो। पूर्व स्वास्थ्यमन्त्री समेत रहेका कास्की–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद अधिकारीले स्थानीय विकास पुर्वाधार साझेदार कार्यक्रम अन्तर्गत आफूले बजेट विनियोजन गरेका योजनाहरु समेत सार्वजनिक गरे। उक्त कार्यक्रम अन्तर्गत प्रतिनिधि सभाको प्रत्येक निर्वाचन क्षेत्रमा सम्वन्धित क्षेत्रका सांसदले आफ्नो तजविजमा ४ करोड बजेट विनियोजन गर्न पाउँछन्। जस अन्तर्गत कास्की क्षेत्र नं. १ को मादी गाउँपालिकामा १ करोड २५ लाख बजेट विनियोजन गरेका छन्। यस्तै रुपा गाउँपालिकामा १ करोड २० लाख र पोखरा महानगरमा १ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए।
नेकपा सचिवालय असफल भयो- खगराज अधिकारी