पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा कोभिड १९ का संक्रमितको संख्या ५ सय नाघ्यो । बिहीबार ४४ जना नयाँ संक्रमित थपिए संगै कावासोतीमा संक्रमितको संख्या ५ सय ३६ पुगेको छ ।
कात्तिक २३ गते कावासोती नगरपालिकामा स्वाब संकलन गरिएका ११३ जना मध्ये ४४ जना कावासोतीका र १ जना मध्यविन्दुका गरी ४५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए ।
कावासोती नगरपालिका स्वास्थ्य शाखाले जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार कावासोतीमा बिहीबार कोभिड १९ का ४४ जना नयाँ संक्रमित पहिचान भएका हुन् । उनीहरु सबैको अवस्था समान्य रहेकोले उनीहरु सबै होम आइसोलशनमा रहेका छन् ।कावासोतीमा पहिचान भएका ५ सय ३६ जना संक्रमितहरु मध्ये ३३५ जना निको भएका छन् । यसैबीच, पूर्वी नवलपरासीमा आज ४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार कावासोतीमा ४६ जना र गैडाकोट नगरपालिकामा आज एक जना सक्रमित थपिएका छन् ।
आज थपिएका संक्रमित सहित जिल्लामा संक्रमितको संख्या २ हजार १ सय २ पुगेको छ भने तीमध्ये १ हजार ५ सय २१ जना संक्रमणमुक्त भएका छन् ।जिल्लामा अहिलेसम्म कोरोना संक्रमण पुष्टी भई २४ जनाको ज्यान गएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ५७ रहेको छ ।