नारायण प्रभु । नवलपुर,कात्तिक १२ ।नमुना सदरमुकाम बन्न लागेको कावासोती २ को भित्री बस्तीहरुमा महिनौंदेखि फोहोर नउठ्दा टोल नै दुर्गन्धित बनेको छ।
केही महिना पहिला हरेक हप्ता नगरपालिकाको गाडीले फोहोर उठाउँदै आइरहेको थियो तर अहिले नगरपालिकाले प्राइभेट कम्पनीलाई फोहोर उठाउँने जिम्मा दिए पछि फोहोर उठाउने गाडी भित्री बस्तीहरुमा पस्न छाडेको स्थानीयको गुनासो छ।
जलाउँदा पनि वातावरण प्रदुषण हुने बोरामा थुपारेर राख्दा गन्हाएर टोल नै दुर्गन्धित भएको, कावासोती २ भिमसेन मार्गमा रहेको कावासोती चप्पल कारखानाकी प्रोप्राइटर इन्दिरा भुर्तेलले गुनासो गरिन। प्राइभेट कम्पनिले फोहोर उठाउन मासिक शुल्क लिने गरेको,उपभोक्तालाई कार्ड बनाइदिने गरेको भन्ने सुनिएता पनि त्यो विषयमा आफुहरुलाई कसैले सम्पर्क नगरेको उनको गुनासो रहेको छ।
पैसै दिन पर्ने भए पनि हामी तयार छौँ तर हामिले जम्मा गरेको फोहोर त नियमित उठाइदिन पर्यो नि उनले दुखेसो व्यक्त गरिन। यस बिषयमा कावासोती नगरपालिका वडा नं.२ का वडाध्यक्ष लक्ष्मी प्रसाद पौडेलसँग बुझ्दा उहाँले बुटवलको एउटा प्राइभेट कम्पनीले गत फागुनदेखि ठेक्का लिएता पनि चैत बाट भएको लकडाउनका कारण नियमित फोहोर उठाउन नसकेको बताउनु भयो।
अहिले परिस्थिति केही सहज भएको छ अब तत्कालै बस्ने कार्यपालिकाको बैठकमा यस बिषयमा पनि छलफल गरि फोहोर उठाउने कार्यलाई तीव्रता दिने उहाँले बताउनु भयो।
लामो समयदेखी फोहोर नउठाउदा दुर्गन्धले अत्तालिएर आक्रोसित बनेका स्थानीयले वडा कार्यालय घेराउ गर्न जाने समेत चेतावनी दिएका छन।