हिन्दु नेपालीहरुको महान चाड दशैं तिहार नजिकिँदै गर्दा अपराध नियन्त्रणका लागि प्रहरीले पूर्वी नवलपरासी जिल्लामा विशेष सुरक्षा योजना अघि सारेको छ । चाडबाडका समयमा विभिन्न किसिमका घटनाहरु हुन सक्ने भन्दै प्रहरीले विशेष सुरक्षा योजना अघि सारेको हो ।
दशैं तिहारजस्ता चाडमा जुवातास तथा सट्टेबाजीहरु हुने भएकाले त्यसतर्फ पनि प्रहरी विशेष सुरक्षा परिचालन गरेको छ । जिल्ला सुरक्षा समिति नवलपरासीपूर्वको बैठकबाट निर्णय गरी असोज २० गतेदेखि मंसिर १५ गतेसम्म लागू हुने गरी एकीकृत सुरक्षा योजना अघि सारेको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए।
नवलपुर जिल्ला यसअघि पनि जुवातास खेलाउने जिल्लाका रुपमा चिनिँदै आएको छ । जिल्ला सदरमुकाम कावासोती क्षेत्रकै विभिन्न ठाउँमा यस्ता जुवा अड्डाहरु रहेको सूचना पाएपछि प्रहरीले केही दिनयता सर्चअभियान तीब्र पारेको छ ।
केही दिनअघि मात्रै मध्यबिन्दु नगरपालिका २ कोल्हुवास्थित एक होटलबाट जुवा खेल्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको थियो भने कावासोतीकै हात्तीखोरस्थित सैनिक ब्यारेकभित्र जुवा खेल्ने अड्डा रहेको प्रहरीले सूचना पाएपछि खोजी अभियानलाई तीब्र पारेको छ ।
विशेष सुरक्षा योजनाअन्तर्गत नवलपुर प्रहरीले जुवा खेलाउने सम्भावित ठाउँहरु फेला पारेको छ भने कतिपयलाई जुवा खेलाइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।
यस्तै, प्रहरीले सुरक्षा योजनाअन्तर्गत नै जिल्लाको गैडाकोटदेखि दुम्किबाससम्म विभिन्न ठाउँहरुमा यात्रु सहायता कक्षसमेत सञ्चालन गरेको छ । चाडबाडका बेला यात्रुको भिडभाड हुने तथा बढी भाडा लिएमा कारबाही गरिने प्रहरीले जनाएको छ।
हरेक वर्ष दशैंतिहारका बेलामा विभिन्न किसिमका अपराधका घटनाहरु हुने भएकाले प्रहरीले विशेष सुरक्षा योजना अघि सार्दै आएको छ ।